प्रकाशजीले कसैको धम्की र त्रासमा आएर भिडियो हटाउनु हुँदैन । यसो भयो भने संविधान झुठो साबित हुन्छ ।


प्रकाश सपुतजी को भिडियो "पीर" एक उत्कृष्ट भिडियो हो जसले वर्तमान परिस्थितिको सही चित्रण गरेको छ। नेपालमा राजनैतिक अस्थिरता र नेपालीहरुको बेवारिसे अवस्थालाई ठीक ठीक व्याख्या गर्ने उक्त भिडियो नेपालीहरुको मनभित्र उब्जेका लाखौं प्रश्नहरूको एउटा " नमूना प्रश्न " बनेर सरकार, सहयोगी पार्टी तथा खासगरी माओवादी नेतृत्वसामु चुनौतीको रूपमा उभिएको छ। 

१० वर्षको निरन्तर जनयुद्धमा जसरी जनवादी क्रान्तिकारीहरूले आफ्नो योगदान पुर्याए त्यसको पुरस्कार गणतन्त्र नामक उपलब्धिले उपहास, तिरस्कार र विदेश पलायन हुने बाध्यताको रूपमा फर्काएको यस भिडियोले दर्शाएको छ। १५ वर्ष बितिसक्दा पनि त्यो उपलब्धिले आम जनताको जीवनमा कुनै सकारात्मक परिवर्तन ल्याउन नसकेको गुनासो यस भिडियोमा प्रष्ट देख्न सकिन्छ ।

प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा माओवादी पार्टी निरन्तर सत्तामा बसी नै रहे तर जनयुद्ध बाट प्राप्त गरेको उपलब्धि र अवसरलाई मूर्त रूप दिन सकेन । यसको विपरित माओवादी पार्टी र कार्यकर्ताहरु भोग विलासमा केन्द्रित भए । आफ्नो स्वार्थ तथा आफन्तहरूको उन्नतिको लागि हुने जति सबै काम गरे तर देशको हितका लागि कुनै निर्णायक काम गरेनन् ।

एउटा काम चाँहि अवश्य गरे त्यो हो जनतामा भ्रम र आशंका फैलाउने काम।

"पीर" एक भिडियो मात्र न भएर देशभरि देखिएको बेतिथि र निराशालाई उजागर गर्ने माध्यम बनेको छ। दैनिक ज्याला गर्ने व्यक्ति, साना व्यापारी तथा नौकरी पेशामा कार्यरत सबै नेपालीहरुले भोग्नु परेको पीडा, देशमा रोजगारीको दयनीय अवस्था र यसले युवाहरुलाई विदेश पलायन हुन सिर्जना गरेको परिस्थितिलाई सरकार र सरोकारवालाहरुको सामु एउटा जल्दो बल्दो मुद्दाको रूपमा प्रस्तुत गरेको छ ।

विदेश जाँदा विदेशमा भोग्नु परेको पीडा, देशबाट र परिवारबाट अलग्गिएर रहनुको व्यथालाई व्याख्या गर्ने प्रकाश सपुतजीको "पीर" रचनात्मक हिसाबले उत्कृष्ठ हो र यो एकदम सराहनिय छ । म प्रकाश सपुतजीलाई धन्यवाद दिन चाहन्छु किनकि वहांले हामी सम्पूर्ण नेपालीको आवाजलाई एउटा माध्यम दिनु भएको छ। यस भिडियोले आम नेपाली र सरकारलाई सकारात्मक पहलको लागि कैयौँ नयाँ ढोकाहरू देखाएको छ । 

आफ्नो र सन्ततिको उज्ज्वल भविष्य र परिवर्तनको लागि जनवादी क्रान्तिकारीहरुले ठूलो संघर्ष गरे । लाखौंले ज्यान गुमाए र हजारौं घाइते भए । देश र माटोको मायामा जीवनको आहुति दिने वीरहरुले १५ वर्ष बितिसक्दा पनि, गणतन्त्र आइसक्दा पनि के पाए ?

हामीले एउटा राजा फालेर हजारौं नयाँ राजाहरु बनायौँ तर परिवर्तनको नाममा केही सुधार गर्न सकेनौं । त्यही भ्रष्टाचार, त्यही ढिलासुस्ती, त्यही गुहार र सास्तीको प्रक्रिया निरन्तर कायम छ । किन हामीले यत्रो क्रान्ति गर्यौँ र ज्यान गुमायौं यदि यही अवस्था प्रचलनमा रहने थियो भने ? 

एउटा ठूलो प्रश्न हाम्रो अगाडी उभिएको छ। 

सामाजिक सञ्जालमा जसरी माओवादी कार्यकर्ताहरूले यस भिडियोको विरोध गरेका छन् र भिडियो हटाउने धम्की दिएका छन् यसले के देखाउँछ भने नेपाली जनताले अझै पनि स्वतन्त्रता पाएका छैनन् । सरकार र माओवादी नेताहरुले गिनाउने उपलाधीहरुको कुनै महत्व छैन।

२०७२ मा जारी गरेको नेपालको संविधानको भाग-३ (मौलिक हक र कर्तव्य) को धारा १७ को भाग २ को (क) मा लेखिएको छ 

" विचार र अभिव्यक्तिको स्वतन्त्रता " तर यो अधिकार आम नेपाली जनताको लागि अझै उपलब्ध भएको मलाई लाग्दैन । 

यदि यो धारा आम नेपालीको लागि मान्य छ भने प्रकाश सपुतजीले आफ्नो अधिकार र कर्तव्यको पालना गर्दै उक्त भिडियोमा आफ्नो अभिवयक्ति प्रष्ट र ध्यानकर्षण हुने गरी प्रस्तुत गर्नु भएको छ। जनतामा जागरूकता फैलाउनु, जनताको हितको संरक्षण गर्नु एक नेपालीले अर्को नेपालीका लागि वहन गर्नु पर्ने कर्तव्य हो । भिडियो मार्फत सपुतजीले माओवादी पार्टी तथा जनवादी कार्यकर्ताहरुको अपमान गरेको देखिदैन तथापि माओवादी नेताहरु आफ्नो विचार, घोषणा र सपना बिर्सिसकेको भन्ने कुरा तिर बढी ध्यानाकर्षण गराएको देखिन्छ ।

एक देशको नागरिकले आफ्नो अधिकार खोज्नु पूर्व देशको हित र देशको उन्नतिको लागि केही योगदान दिनुपर्ने हुन्छ । देश भेनेको एउटा नक्शा मात्र हुँदैन। देश भनेको जनताको सुख-समृद्धिमा ध्यान दिने, सुरक्षा प्रदान गर्ने, देश सबल बनाउने कार्यमा सबैलाई सहभागी गराउने एउटा संस्था हुन्छ। प्रत्येक नागरिकले परस्पर आफ्नो तर्फबाट शिक्षा, स्वास्थ्य, रोजगार, आवास, संस्कृति, धर्म तथा हरेक क्षेत्रमा सकारात्मक सहयोग गर्नु पर्छ । प्रकाश सपुजीले आफ्नो तर्फ बाट जनतामा जागरूकता फैलाउने र आफ्नो कर्तव्य बिर्सेका हरुलाई सजग हुन र सुध्रिन अपील गर्ने आफ्नो मौलिक हक र कर्तव्यको पालना गरेका हुन् । 


निष्कर्ष : प्रकाशजीले कसैको धम्की र त्रासमा आएर भिडियो हटाउनु हुँदैन । यसो भयो भने संविधान झुठो साबित हुन्छ । यो देश कसैले एकलौटी आर्जन गरेको देश होइन र भन्दैमा कसैको हुँदैन । देशको संविधानको सबै नेपालीले सम्मान गर्नु पर्छ । एक अर्काको अधिकार र हितको रक्षा गर्नु पर्छ र आफ्नो गल्ति स्वीकार गरी सुधार गर्ने बाटो खोज्नु पर्छ । सही काम गर्नेलाई धम्की दिनु कानुन विपरीत हो । 



rticle

Comments